युरोपा लिग : भ्यालेन्सियामाथि आर्सनलको सहज जित

युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस टोली आर्सनलले सहज जित निकालेको छ । सेमिफाइनलअन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा आर्सनलले स्पेनिस भ्यालेन्सियामाथि ३–१ को जित निकालेको हो । आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जिताउन एलेक्ससान्द्र लाकाजेट्टीले २ गोल गरे भने १ गोल पिएरे अउबामेयाङले गरे । यता, भ्यालेन्सियाका मौकटार डियाखावीले सान्त्वना गोल फर्काए ।

घरेलु टोली आर्सनलले खेलमा पहिला गोल खाएको थियो । खेलको ११औं मिनेटमै भ्यालेन्सियाका लागि डियाखावीले गोल घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, त्यसपछि आर्सनलले सहज पुनरागमन गर्यो । १८औं मिनेटमा आर्सनलका लागि लाकाजेट्टीले बराबरी गोल गरे भने उनैले २६औं मिनेटमा दोस्रो गोल गरेपछि आर्सनल २–१ को अवस्थामा पुग्यो । त्यसपछि दोस्रो हाफको थस समयमा अउबामेयाङले गोल गरेर आर्सनललाई ३–१ को जित दिलाए । अब यो जितपछि आर्सनलले फाइनल पुग्ने सम्भावना बढाएको छ । यी दुईको दोस्रो लेगको खेल मे १० मा भ्यालेन्सियाको घरमा हुँदैछ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ०९:५२