परराष्ट्र मन्त्री खडका र युएईका अर्थमन्त्री अल मारीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्र मन्त्री डा. नारायण खडका र संयुक्त अरब इमिरेट्सका अर्थमन्त्री एचई अब्दुल्ला बिन तौक अल मारीबीच भेटवार्ता भएको छ । अन्टाल्या कूटनीतिक मञ्चमा सहभागी हुन टर्कीको भ्रमणमा रहनु भएको खडकाले सो अवसरमा युएईका अर्थमन्त्री अल मारीसँग भेट गर्नु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटघाटको क्रममा मन्त्री अल मारीले व्यापार, लगानी र सहयोगका अन्य क्षेत्रमा नेपालजस्ता मुलुकलाई आफ्नो सरकारले प्राथमिकता दिएको बताउँदै नेपालमा लगानीका सम्भाव्य आयोजनाको सूची बनाउन अनुरोध गर्नु भयो ।

मन्त्री डा खड्काले युएई सरकारको निरन्तर सद्भाव र सहयोगको पंशसा गर्नु भयो ।

त्यस्तै, सो अवसरमा ‘लोकतान्त्रिक सुशासन र सुरक्षा’ विषयक प्यानललाई सम्बोधन गर्दै मन्त्री खडकाले शान्तिपूर्ण, स्थिर र समृद्ध समाज निर्माणमा लोकतान्त्रिक शासनको भूमिकाबारे आफ्नो धारणा राख्नु भयो ।

मन्त्री डा खड्काले आफ्नो उच्चस्तरीय सहभागितालाई निरन्तरता दिने पनि दिनुभयो ।  मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागिता छ ।

त्यस्तैगरि, मन्त्री खडकाले एसियामा अन्तरक्रिया र विश्वास निर्माणका उपायहरू (सिआइएसिए) का महासचिव कैरत सारीबेर सँग पनि शिष्टाचार भेट गर्नुभयो। शनिबार भएको भेटका क्रममा सारीबेले यस क्षेत्रमा बहुपक्षीयता र कनेक्टिभिटी प्रवर्द्धन गर्न संगठनका गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

यसअघि भ्रमणमा रहेका प्रतिनिधिहरुको सम्मानमा टर्कीका राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा पनि मन्त्रीहरुले सहभागी भएका थिए । कार्यक्रमको समापनपछि मन्त्री खड्का आजै साँझ काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित | २९ फाल्गुन २०७८, आईतवार १६:३४