शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको देउवाको भनाई

काठमाडौं । राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ ।

आज शहिद दिवसको अवसरमा लैनचौरमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनु भएको हो ।

शहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको बताउदै उहाँले सो विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिनु भएको छ ।

उहाँले शहिदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहिदका परिवारलाई सहयोग गर्ने तथा शहिदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले शहिदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहिदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले अब देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

जनतामा राजनैतिक, सामाजिक चेतनाहरु फैलाउन तथा नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सचेत बनाई मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने शहीदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरु नतमस्तक भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

निःस्वार्थ रुपमा देशको हीत, समुन्नतिको लागि जीवन समर्पण गर्ने शहिदहरुले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै आफ्नो क्षेत्रबाट प्रतिवद्ध भई लाग्नुपर्ने खाँचो रहेको उहाँको जोड छ ।


प्रकाशित | १६ माघ २०७८, आईतवार १३:२८