स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

काठमाण्डौ : स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारी मनोनयन दर्ता शुरु हुँदैछ । यही बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि आजबाट मनोनयन दर्ता शुरु हुन लागेको हो ।

निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन तोके पनि मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएकाले यसपालि दुई दिन समय निर्धारण गरिएको हो ।

आयोगको कार्यतालिका अनुसार आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, भोलि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पर्सि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

त्यसैगरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १ हजार रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ । निर्वाचन सम्पन्न भएपछि पराजित उम्मेदवारहरुले जमानत जफत नभएको अवस्थामा आफ्नो शुलक फिर्ता पाउँछन् ।


प्रकाशित | ११ बैशाख २०७९, आईतवार ०८:११