रौतहटको इशनाथ नगरपालिकामा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

कृष्ण तिवारी /रौतहट 

रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रवार झडप भएको छ । इशनाथ नगरपालिकामा विहिवार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो ।

इशनाथ ७ जोकहामा स्थित अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागी जिल्ला भित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा भएको वादविवादले उग्र रुप लिएको थियो । संक्रमितहरुलाई अन्यत्र नलगेर सोही नगरपालिका भित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरुमा तोडफोड भएको छ तर कुनै अप्रिय घटना नघटेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ । यस अघि बिहीबार पनि जिल्लाको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई लिएर स्थानीय र प्रहरीबिच झडप भएको थियो । स्रोत गोरखापत्र अनलाइन


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १४:१०