रुसद्धारा युक्रेनका दुई सहरमा अस्थायी रूपमा युद्धविराम घोषणा

तस्विर: रोयटर्स

काठमाडौँ — युक्रेनसँगको संघर्षको दसौँ दिनमा आइपुग्दा रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार दुई सहरमा युद्धविराम घोषणा गरेको हो ।

रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।

त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई उद्दृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

मारिओपोलका एक शीर्ष अधिकारीले त्यहाँको युद्धविराम बेलुका ४ बजे सम्म रहने बताएको अल जजिराले समाचारमा उल्लेख गरेको छ ।

मारिओपोलमा धेरै दिनदेखि रुसी सेनाले घेरा हालेको छ। भोल्नोभाखामा पनि चर्को भिडन्त भएको छ ।

झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपो युक्रेनको मुख्य व्यापार बन्दरगाह छ। रुस क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो। भोल्नोभाखा भने सानो सहर हो।

दस दिनमा रुसी आक्रमणका कारण प्रमुख युक्रेनी सहर खेअर्सन ध्वस्त भइसकेको छ । साथै रुसी क्षेप्यास्त्रहरूले राजधानी किएभ र दोस्रो ठूलो सहर खार्किभलाई पनि निसाना बनाएका छन्। सडकबाट किएभतर्फ लागेको विशाल रुसी फौज हाल रोकिएको बीबीसीले जनाएको छ ।

रुसी सेनाले शुक्रवार घण्टौँसम्म आक्रमण गरेपछि युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया पारमाणविक ऊर्जा केन्द्रलाई पनि कब्जामा लिएको छ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार २४ फेब्रुअरीयता १२ लाखभन्दा बढी मानिसहरू युक्रेनबाट पलायन भएका छन् र लाखौँ मानिसहरू अन्यत्र जाने क्रम जारी छ ।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार १४:४७