आइसिसीलाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थको आग्रह

टेक्सस-  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) लाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित आठ जनाले आग्रह गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पन्तसहित उपाध्यक्ष बिकाश उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचिव सुनिता सापकोटा, बोर्ड अफ डाईरेक्टरहरु आशीष संग्रौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुङ र किरण बस्नेतले सदस्यता शुल्क तोकिएकै समयभित्र आइसिसीलाई बुझाउन आग्रह गर्नु भएको हो ।

गैर आवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने स्पष्ट विचार राखेको बताउँदै यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा आफुहरुको असहमती रहने एक विज्ञप्ति जारी गर्दै जनाइएको छ ।

आठ जनाले संयुक्त रुपमा जारी गर्नु भएको विज्ञप्तिमा भनीएको छ, ‘एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

आइसिसीले एनआरएनए अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्थामा एनआरएनए अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको ५ डलर आइसिसीलाई बुझाउन पर्ने स्पष्ट किटान गरिएको र एनआरएनए अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनआरएनए आइसिसीको बुधबार बसेको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसिसी अमेरिकासहित यूके, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अन्तिम अवसर दिएको थियो ।

साथै उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने र नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिने निर्णय गरेको थियो ।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार १६:४२