सवारी दुर्घटनामा परी दैनिक सातको मृत्यु

काठमाडौं:  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा२ख २७१५ नंको यात्रुबाहक बस गत असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–९ मा ६७ यात्रु बोकेर दोलखाबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस अनियन्त्रित भई सुकुटे नजिक सुनकोशी नदीमा खस्दा १८ जनाले ज्यान गुमाए ।

कात्तिक १५ गते म्याग्दीको मालिका गाउँपालिकामा भएको अर्को दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । चाडबाडको समयमा तीन ठूला घटनामा ३३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले पछिल्लो समयमा भएका यी प्रतिनिधि घटनाको प्रमुख कारण चालकको कमजोरी ठह¥याएको छ ।

ट्राफिक नियमसम्बन्धी चेतनामूलक कार्यक्रम जिल्ला जिल्लामा गरिए पनि सवारी दुर्घटना र मानिसको मृत्यु हुने क्रम भने घटेको छैन । अझ चाडबाडको समयमा घटना बढी हुने गरेको छ । एक त यात्रुको चापका कारण छिटो घर जाने हतारो र अर्को चालकले कमाउने अवसर छोप्न खोज्दा दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै मापसे जाँच, सवारी नियम उल्लङ्घनविरुद्ध ट्राफिक प्रहरीले कारवाही अभियान चलाउँदै दैनिक कक्षा लिने गरे पनि तथ्याङ्कमा भने दुर्घटना न्यूनीकरण हुन सकेको देखिँदैन । नेपाल प्रहरीको अभिलेखमा सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाले ज्यान गुमाउने गरेको छ । झण्डै ७५ प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिएको छ ।

“दुर्घटनामा दैनिक सातदेखि आठ जनाको ज्यान जाने गरेको छ, दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरवाही हो, त्यसपछि तीव्र गति छ”, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भन्नुभयो । उहाँका अनुसार देशभर दैनिक साना ठूला गरेर ५५ देखि ६० वटा सवारी दुर्घटना हुने गरेको र उक्त दुर्घटनाबाट औसत १२ जना गम्भीर घाइते र २७ जना सामान्य घाइते हुने गरेका छन् ।

प्रहरीको अभिलेख अनुसार आव २०७३÷७४ मा दुई हजार ३८४ ९दैनिक औसत ६।५३० जनाले ज्यान गुमाएका थिए । आव २०७४÷७५ मा सवारी दुर्घटनाका कारण दुई हजार ५४१ ९दैनिक औसत ६।९६० जना र आव २०७५÷७६ मा त्यो सङ्ख्या बढेर दुई हजार ७८९ ९औसत ७।६४ जना० पुग्यो । यसमा चार हजार बढी गम्भीर घाइते भएका छन् ।

चालू आवको साउनदेखि असोजसम्म मात्रै दुर्घटनाबाट ४१४ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला मात्रै सवारी दुर्घटनामा १३९ जनाले ज्यान गुमाएका छन् ।

मुख्यतः पहिलोमा चालकको लापरवाही, त्यसपछि तीव्र गति, धेरै यात्रु राख्ने प्रवृत्ति, यान्त्रिक गडबडी, मापसे, चालकले बढी समय गाडी चलाउनु र सडकको दुरावस्था रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल दुर्घटनामा न्यूनीकरणमा विभिन्न उपाय अपनाइए पनि चालक आफैँमा चेतना नआउँदासम्म चुनौती कायम रहने बताउनुहुन्छ । साउनयता मात्रै काठमाडौँमा २९ हजार चालकलाई कक्षा लिएको छ । यद्यपि तथ्याङ्कमा कमी देखिन सकेको छैन ।

दुर्घटनाका कारण विश्लेषण गर्दा १३ हजार सवारी दुर्घटनामा झण्डै १० हजार चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ । ढकालले काठमाडौँ उपत्यकामा भने मानवीय क्षतिका हिसाबले दुर्घटना न्यूनीकरण भएको जिकिर गर्नुभयो । सवारी साधनका हिसाबले सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ ।

गएको वर्ष कूल २२ हजार सवारी दुर्घटनामा आठ हजार ५५४ वटा मोटरसाइकल दुर्घटना भएको थियो । जीप कार छ हजार दुर्घटनामा परेको थियो । दुई हजार ६३३ बस दुर्घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।

प्रहरी नायब महानिरीक्षक पोखरेल चालक, यातायात व्यवसायी र यात्रुले सवारी नियम पालना गरेमात्रै पनि धेरै दुर्घटना आफैँ रोकिने जिकिर गर्नुहुन्छ । प्रहरीको अभिलेखमा पछिल्लो तीन आवमा भएको ३४ हजार ५०९ सवारी दुर्घटनाबाट सात हजार ७१४ जनाले ज्यान गुमाएका छन् । जसमा २५ हजार ८६७ दुर्घटना चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ । यात्रुको कमजोरी भने न्यून रहेको देखिन्छ । रासस


प्रकाशित | २० कार्तिक २०७६, बुधबार ०८:१२