अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउँदै नेपाल

सहायता इतिहासमै पहिलो हुने दावी

काठमाडौं – नेपाल सरकारले अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री पठाउन लागिएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामाग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिनु भयो ।

आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरूमा औंषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरू रहेका छन् ।

नेपालले पठाउने सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नुपरेको पनि मन्त्री खड्काले जानकारी गराउनुभयो । उहाँले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदुतहरूको ठूलो सहयोग रहेको पनि स्मरण गर्नुभयो ।

मन्त्री खड्काले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि नेपाल सरकारको तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको बताउनु भयो । नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत उहाँले गर्नुभयो ।

नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत उहाँले गर्नुभयो । संयुक्त राष्ट्रसंघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने र लाखौंको संख्यामा बालबालिकाहरू खानाको अभावमा मर्ने चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ ।

 


प्रकाशित | १ माघ २०७८, शनिबार १९:१५