एनआरएनएको ८२ औं बैठक : चार बुँदे निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । गैर आवासीय नेपाली संघको ८२ औं बैठकले चार बुँदे निर्णय गरेको छ । प्रवक्ता डिवी क्षेत्रीले बुधबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्नु भएको हो ।

बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो ।

‘उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ । नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ’, क्षेत्रीद्धारा जारी विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, बैठकले महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने निर्णय गरेको छ ।

तर सो समय आजै सकिसकेको छ । यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने र उच्चस्तरीय समिति स्वतः विघटन हुने उल्लेख छ ।

त्यस्तैगरि, बैठकले निर्वाचन अनुगमन गर्न एक समितिको गठन गर्ने, हालको संरक्षक परिषद्लाई सधन्यवाद विघटन गरिने, पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार १७:०४