रुस र युक्रेन वार्ता जारी राख्न सहमत

रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपनि दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार वार्तामा कुनै सहमति नजुटे पनि वार्ता जारी राख्न भने दुवै पक्ष सहमत भएका हुन ।

आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सोमबार पहिलो चरणको वार्ता भएको थियो ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको र वार्तामा कुनै प्रगति हुन नसकेको बताएको अल जजिराले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्धविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्रिया दिनु भएको छ ।

युक्रेनको सीमा नजिक बेलारुसमा भएको पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । रूसी पक्ष तटस्थता र कहिल्यै नेटोमा मा सामेल नहुने ग्यारेन्टी खोजीरहेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको थियो ।

त्यस्तै, रुसले आफ्नो कीभ आक्रमण पुनः सुरु गरेको युक्रेनले जनाएको छ । युक्रेनले रुसी सेनाले राजधानी कीभमा फेरि आक्रमण सुरु गरेको बताएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पाँच दिनको युद्धमा रुसले युक्रेनी भूभागमा ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरिसकेको छ ।


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार ११:४८