आज युक्रेन-रुसबीच शान्तिवार्ता हुने

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालय

एजेन्सी– रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा प्रवेश गर्दा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच आज शान्तिवार्ता हुने भएको छ । युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा शान्तिवार्ता हुने भएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्न सहमत हुनु भएको थियो । तर ठाउँ र सुरक्षाको कारणले वार्ता हुन ढिलो भएको बीबीसीलाई उदृत गर्दै किएभले जनाएको छ।

बेलारुसको विदेश मन्त्रालयले रुसी र युक्रेनी झण्डासहितको लामो टेबलको तस्वीर जारी गर्दै बेलारुसमा रूस र युक्रेन बीचको वार्ताको लागि तयारी गरिरहेको जनाएको हो । 

विदेश मन्त्रालयका प्रवक्ता अनातोली ग्लाजले सबै प्रतिनिधिमण्डल बैठकमा सहभागि भएलगत्तै वार्ता सुरु हुने बताउनु भयो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताउनु भएको छ । ‘सधैं जस्तै म यस बैठकको नतिजामा साँच्चै विश्वास गर्दिन, तर तिनीहरूलाई प्रयास गर्न दिनुहोस्’, उहाँले भन्नु भयो।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १५:०८