काठमाडौं – युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि गठित उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् ।
यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना, स्लोभाकियाको सीमामा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा क्रस गर्न सक्ने अनुमान गरिएको छ ।
गैर आवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै बसोबास गर्दै आउनु भएको छ । युक्रेनमा करिव ४ सय नेपाली रहेको अनुमान छ ।
विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले पठायो ट्राभल्स डकुमेन्ट
युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षमा बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै राजदुत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिनुभयो ।
उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित हुनु भएको जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र अल्ली खुकुलो बनाएको कारणले नेपालीहरु बाहिर निश्कन सहज भएको बताउनु भयो ।
स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिनभयो । उहाँले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताउनुभयो । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको जनाकारी दिनु भयो ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिनुभयो । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पुर्याउन सकृय रुपमा लागि परेको बताउनुभयो ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिनुभयो । उहाँले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताउनु भयो । उहाँले एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि सो आवेदनको अन्तिम सुनवाई नभएसम्म अर्को देशमा जानु गैरकानुनी हुने जानकारी दिनुभयो ।
बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्त, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), गोपाल राई, सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी) लगायतले आफ्नो भनाईहरु राख्नु भएको थियो ।
उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।
बैठकमा उच्चस्तरीय समितिका सदस्य सचिव चिरन्जिबी खड्काले समितिले विगत २४ घण्टामा गरेका गतिविधिको बारेमा प्रकाश पार्दै स्थानीय रुपमा समन्वय समिति गठन गरेर नेपालीहरुको उद्धारको काम भैरहेको जानकारी दिनुभयो । समितिले युद्धबाट विस्थापित नेपालीहरुको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ ।
प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १२:२७