युक्रेनमा रहेका २ सय १९ नेपाली दुतावासको सम्पर्कमा, १ सय ५० भन्दा बढी पोल्याण्ड प्रवेश

युक्रेन (किएभ) – युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ ।

जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये १ सय ५० को हाराहारीमा पोल्याण्ड प्रवेश गरिरहेको जानकारी दिनु भयो ।

बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युक्रेनबाट भागिरहेका छन् । पोल्याण्ड सरकारले युक्रेनको युद्धबाट भाग्ने जो कोहीलाई पनि ल्याउने र जाने ठाउँ नभएकाहरूलाई अस्थायी आवास दिने प्रतिबद्धता जनाएको छ ।

पोल्याण्डले मानिसहरूलाई आफ्नो सबै आठ सिमा नाकाहरुमा पैदल मार्फत सिमा पार गर्न अनुमति दिइरहेको छ ।

युक्रेनसँगै सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया र हंगेरीले पनि युक्रेनबाट निस्कन चाहने नागरिकलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरिरहेको छ । नेपाली दुतावासले त्यहाँ रहेको नेपालीलाई नजिकका चार वटा छिमेकी मुलुकमा जान आग्रह गरेको थियो ।

नेपाली राजुदत खडकाले पोल्याण्डसँगै स्लोभाकीया र हँगेरीको नाकाबाट पनि नेपाली प्रवेश गरिरहेको सुचना प्राप्त भएको जानकारी दिनु भयो । खडकाले नेपालीहरुको उद्धारको लागि स्लोभाकीया, हँगेरीसहित रोमानीयामा रहेका भारतीय राजदुतावासँग पनि समन्वय भइरहेको जानकारी दिनु भयो ।  

राजदुत खडकाले पहिलो चरणमा अहिले त्यहाँ रहेका नेपालीलाई प्रोत्साहन गरेर कसरी सुरक्षीत ठाउँमा पुर्याउने भनेर लागिरहेको बताउनु भयो । युक्रेनमा सुरक्षीत रहेका नेपालीहरु पश्चिम-दक्षिण नाकातर्फ जाने क्रम जारी रहेको खडकाले बताउनु भयो ।

हालसम्म यात्रा अनुमतिपत्र नभएका १० जनालाई नाका प्रवेश गर्न यात्रा अनुमतिपत्र पठाइएसकिएको पनि बताउनु भयो । साथै उहाँले अहिलेसम्म को-कहाँ पुगे भन्ने यकीन तथ्यांक भने उपलब्ध भइनसकेको बताउनु भयो ।

गैर आवासीय नेपाली संघका अनुसार युक्रेनमा चार सयको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ ।

त्यस्तै, रुसी आक्रमण सुरु भएदेखि हालसम्म १ लाख १५ हजार भन्दा बढी मानिस युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको जनाइएको छ । पोल्याण्डका आन्तरिक मन्त्री पावेल सेफर्नाकरले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिनु भएको हो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार ००:५४