शानदार जित सहित इन्टर फाईनलमा

एजेन्सी- इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आईतबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे । इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।

खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९ औं मिनेटमा लिएको थियो । निकोलो बेरेलाको क्रसमा हेडमार्फत मार्टिनेजले सिरि ए क्लबलाई अग्रता दिलाएका हुन् ।

ड्यानिलोले ६४ औ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए ।

खेलको अन्तिम समयमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै लुकाकुले ईन्टरलाई फराकिलो जित दिलाए । ७८ औं मिनेटमा पहिलो गोल गरेका उनले ८३ औं मिनेटमा इन्टरका लागि पाँचौ गोल गरेका थिए ।

शख्तरले एक मात्र गोलको राम्रो अवसर सिर्जना गरेको थियो । तर जुनियर मोरेसको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

इन्टर एक अंकले पछि रहदै सिरि एको उपाधि गुमाएको थियो । इन्टर सन् २०११ पछि पहिलो उपाधिको नजिक देखिएको छ । सिरि ए क्लब इन्टरले अब उपाधिका लागि शुक्रबार सेभियासंग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार ०८:२६