रुसले बदलामा बेलायती एयरलाइन्सलाई पनि लगायो हवाई क्षेत्रमा प्रतिबन्ध

मस्को – रुसले बेलायती एयरलाइन्सलाई हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । रुसी नागरिक उड्डयन नियामकले रुसको एयरपोर्टमा अवतरण गर्न र आफ्नो हवाई क्षेत्र पार गर्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

रुसले यो कदम ‘बेलायतको उड्डयन अधिकारीहरूले गरेको अमित्रतापूर्ण निर्णय’को प्रतिक्रिया भएको जनाइएको छ । युक्रेनमा मस्कोको आक्रमण पछि बिहीबार बेलायतले रसियाको राष्ट्रिय एयरलाइन्स एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न प्रतिबन्ध लगाएको थियो ।

बेलायतका रक्षा सचिव बेन वालेसले एरोफ्लोटलाई युकेमा लगाएको प्रतिबन्धको बदला भएको बताउनु भएको छ ।

ब्रिटिश एयरवेजले सामान्यतया लन्डन र मस्को बीच प्रत्येक हप्ता तीन उडानहरू सञ्चालन गर्ने गर्दछ ।

रुसको घोषणा पछि भर्जिन एट्लान्टिकले बेलायत, पाकिस्तान र भारत बीचका केही सेवाहरूको लागि उडान मार्गहरू समायोजन गरिएको पनि जनाएको छ। यी रुटहरूमा उडान समय १५ मिनेट र एक घण्टाको बीचमा विस्तार गरिने जनाइएको छ।

भर्जिन एट्लान्टिकको लन्डन हिथ्रो र सांघाई बीचको कार्गो उडानहरू हप्तामा चार पटक सञ्चालन हुने गरेका छन् ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार २०:४९