नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, शुक्रबार २ हजार १७ थपिए, १० को मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार २ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २ हजार १७ जनालाई संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६८० जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

थप १० जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ। गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो।

५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

उपत्यकामा १ हजार ४०९ थपिए

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्।


प्रकाशित | २३ आश्विन २०७७, शुक्रबार १६:५६