विश्व कप खेल्ने नेपालकाे सपना अपूरै, यूएईसँग ६८ रनले पराजित

काठमाडौं –  नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।  युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार १९:१६