स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल आयोगमा दर्ता

काठमाडौं –  स्थानीय तह निर्वाचनमा सहभागी हुन दश वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा दश वटा दलले दर्ता गरेका हुन । निर्वाचन आयोगले सोमबार फागुन ५ गतेदेखि हालसम्म दश वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुन आयोगमा दल दर्ता गरेको जनाएको छ ।

आयोगमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशित पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले आयोगमा दल दर्ता गराएका हुन् ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफला ४ र ५ बमोजिम नेपाल कम्युनिष्ट पार्टी ९गौरवशाली०, साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल आयोगमा दर्ता भएका छन् । यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०९ पुगेको छ ।

कट अफ मिति र मतदाता नामावली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्न आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सूचना पठाएको छ ।

त्यस्तै, मतदाता नामावली अद्यावधिक कार्यअन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई निवेदन दिने व्यवस्था गरेको थियो । आयोगले फागुन ५ गतेको निर्णय बमोजिम सबै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल–फ्याक्सबाट समेत निवेदन लिन सकिने गरी निर्देशन दिएको आयोगले जनाएको छ ।

यसअघि आयोगले मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिशसहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्था अनुसार मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

त्यस्तै, आयोगले प्रतिस्पर्धात्मक तवरले निर्वाचन सामग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि फागुन ८ गते बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरेको समेत जनाएको छ ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार ०९:१०