सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, आइतबार फेरि बस्ने

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सुरु भएको केही समयमै सकिएको हो ।

बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक आज आयोजना गरिएको थियो । तर बैठक सुरु भएको केही समयमै फागुन ८ गते बिहान १० बजे बस्ने गरी सकिएको हो ।

सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेक सबै एमसीसीको विपक्षमा छन् । उनीहरुले एमसिसी संसदमा टेवल गर्न नहुने निर्णय गरिसकेका छन् ।

एमसीसीले दिएको समयसिमा सकिन १० दिन मात्र बाँकी रहँदा बिहीबार साँझ प्रधानमन्त्री शेर बहादुर देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटवार्ता गर्नु भएको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धनको अर्को बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउने बताउनु भयो ।

त्यस्तै, कार्कीले प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच हिजो भएको छलफल सकारात्मक रहेको बताउनु भयो ।

संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका हुने भन्दै उहाँले यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीसँग भेटघाट गरेको बताउनु भयो ।


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार ११:३३