निर्वाचन आयोगद्धारा स्थानीय चुनावका लागि दल दर्ता आह्वान, दल दर्ता आजदेखि फागुन १५ गतेसम्म

काठमाण्डौ -– निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले चुनावका लागि दल दर्ता गर्न आजदेखि बिहीवारदेखि फागुन १५ गतेसम्मको समय तोकेको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोजले जनाएको छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ । साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

यसैगरी, राजनीतिक दलको संगठनात्मक स्वरुप केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तर छ–छैन खुलाउने र स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्नछ ।

त्यस्तै, आव २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग/अलग रहेको दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् ।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार २१:५८