स्थानीय चुनावको मितिका विषयमा दरपिठ भएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ– आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २ सय १६ को उपधारा ४ र स्थानीय तह निर्वाचत ऐनका विभिन्न दफाका प्रावधानको व्याख्यासम्बन्धी प्रश्न उठाएर निवेदन परेकाले इजलासबाट सुनुवाइ हुनुपर्ने भन्दै निवेदन दर्ता गर्न परमादेश दिएको हो ।

पालिकाका पदाधिकारीको पदावधि कहिलेसम्म रहने र कुन मितिमा समाप्त हुने भन्ने विषय संविधान र कानुनको व्याख्याको आधारमा निरूपण गर्नुपर्ने आदेशमा उल्लेख छ । संविधान र कानुनसँग सम्बन्धित यस्ता विषयलाई न्यायिक प्रक्रियामा नै समावेश नगरि दरपिठ गरेर टुङ्ग्याउनु उचित नहुने आदेशमा उल्लेख छ ।

सरकारले २०७४ सालको वैशाखदेखि असोजसम्म तीन चरणमा चुनाव गरेको थियो । आउँदो वैशाख ३० गते चुनाव भएमा २०७४ सालको असोजमा चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्दै सकिने भएकाले पूर्ण कार्यकाल काम गर्न पाउँ भन्दै महोत्तरीको भंगाहाका मेयर साहले निवेदन दिनुभएको थियो ।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार २०:१४