काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ ।
अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो ।
तर, एमसीसी सम्झौता अनुमोदन प्रस्ताव राष्ट्रिय सहमतिविना सदन बैठकमा पेस गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको बैठकले निर्णय गरेपछि गठबन्धनका शीर्ष दुई नेताबीच सो सहमति भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीचको छलफलमा बुधबारको संसद बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो ।
प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार १२:५६