राष्ट्रपति फर्किँदा काठमाण्डौको आकाश खाली : जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य

काठमाण्डौ: राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्न बाध्य हुनुपरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराउँदा यात्रुले सास्ती खेप्न बाध्य हुनुपर्यो ।

चीनको साताव्यापी भ्रमण सकाएर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अन्य जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य बने । राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गर्नुभएको हो । राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

स्वास्थ्यमा समस्या देखा परेपछि राष्ट्रपति भण्डारीले एक दिन भ्रमण छोट्याएर आजै स्वदेश फर्कनुभएको हो । यसअघिको भ्रमण तालिका अनुसार राष्ट्रपति भोलि (बिहीबार) एयर चाइनाको उडानबाट स्वदेश फर्कंने कार्यक्रम थियो । तर, स्वास्थ्यमा आएको खराबीका कारण बुधबार फर्कनुभएको हो । राष्ट्रपतिको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत आज पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत तय भएको थियो ।

 


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ११:०४