सबै स्थानीय तहमा उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको हो ।

बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचनका लागि जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि वार्तालाई निरन्तरता दिने, वार्ता नभएका समूहसँग वार्ता गर्ने र हाल पार्टीमा समावेश भएकाहरूलाई जिम्मेवारी दिने निर्णय भएको हो ।

बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गरेको स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको थियो ।

प्रवक्ता श्रेष्ठले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा गर्नेलगायत निर्णय पनि भएको जानकारी दिनुभयो । त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक फागुन ११ गते काठमाडौँमा बस्ने भएको छ ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार २०:१२