कन्सल्टेन्सीमाथि सरकारले बढायो निगरानी

काठमाडौँ – गृह मन्त्रालयले शैक्षिक कन्सल्टेन्सीमाथि निगरानी बढाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दर्ता नभई संचालीत शैक्षिक परामर्शदताहरुको निगरानी बढाएको हो ।

अध्ययनका लागि विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्ने क्रम बढेपछि मन्त्रालयले कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी समेत दिएको छ ।

विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमा नै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरू प्राप्त भएको भन्दै मन्त्रालयले कारवाहीको चेतावनी दिएको हो ।

गृहले इजाजतपत्र नलिई अनधिकृत रुपमा संचालन भएका शैक्षीक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजतपत्र नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षीक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षीक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने ब्यक्तीहरु उपर निगरानी बढाइरहेको जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलल जारी गर्नु भएको विज्ञिप्तमा भनीएको छ, ‘गैरकानुनी रुपमा काम गरेका संस्थाहरु, ब्यक्तीउपचर संम्बन्धीत ब्यक्तीले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सुचना, उजुरी दिनु हुन अनुरोध छ, त्यस्ता गतिविधि संचालन गरेको पाइएमा संलग्न संस्था,समुह र ब्यक्ती जो सुकैलाई प्रचलीत कानुन बमोजीम कारवाही गरिने ब्यवहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।’

गृहले वैदेशीक अध्ययनको लागि जाने विद्यार्थीहरुले सम्बन्धीत देश र उक्त देशका शैक्षीक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पुरा गरेर मात्र अध्ययनको लागि जान पनि आग्रह गरेको छ ।


प्रकाशित | २४ माघ २०७८, सोमबार २२:०१