श्री एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाउदै

काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो ।

कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन जहाज मध्ये दुई वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ ।

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ ।

परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ । शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिट) दुई थान र सीआरजे ७०० (७० सिट) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।

 

 


प्रकाशित | २२ माघ २०७८, शनिबार ११:१७