एनआरएनए उच्चस्तरीय समितिको बैठक शनिबार डाकियो, कार्यदलको प्रतिवेदनलाई आधार बनाएर डेलिगेट्स विवाद टुंग्याइने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको बैठक भोलि (शनिबार) डाकिएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक भोलि मध्यान्ह १२ बजे डाकिएको हो ।

यसअघि उच्चस्तरीय समितिले गठन गरेको तीन सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । दुई जना कानुनी र एक जना आइटी विज्ञ रहेको कार्यदलले एक साताको अध्ययन पछि आफ्नो प्रतिवेदन अध्यक्ष कुमार पन्त मार्फत उच्चस्तरीय समिति समक्ष पेश गरिएको हो ।

समितिले २० बुँदे सुझाव प्रतिवेदन पेश गरेको जनाइएको छ ।  सो कार्यदलको प्रतिवेदनका आधारमा भोलि बस्ने बैठकले संघको महाधिवेशन प्रतिनिधि विवाद बारे अन्तिम निर्णय गर्नेछ ।

प्रतिवेदनमा संघको ६५, २५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोटमा रहेको वैधानिक व्यवस्थालाई पूर्ण रुपमा व्याख्या गरेको छ । यस्तै संघको राष्ट्रिय समितिको निर्वाचनका क्रममा देखिएका विवादलाई समेत प्रतिवेदनले समेटेको छ ।

प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन हुन नसकेपछि जनवरी १५ मा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष कुमार पन्त हुनुहुन्छ ।

आइसिसी बैठकले विवाद समाधान गर्न समितिलाई २६ जनवरीसम्मको समयसीमा तोकिएकोमा उच्चस्तरीय समितिले १० दिनको समय थपेको थियो । समितिले गठन भएयता तीन पटक बैठक बसिसकेको छ । सम्भवत: चौथौ बैठकले अन्तिम निर्णय निकाल्ने विश्वास गरिएको छ । संघले आगामी २८ फेब्रुअरीमा आइसीसीको चुनाव गर्ने घोषणा गरिसकेको छ ।

निर्वाचन समिति तयारी अवस्थामा

निर्वाचन समितिले यसअघि तोकिएको २८ फेब्रुअरीमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहेको जनाएको छ । समितिले महाधिवेशन प्रतिनिधिको सूची तयार हुनासाथ कार्यतालिका सार्वजनीक गर्नेगरि अन्य आवश्यक तयारी गरिसकेको जनाएको हो ।


प्रकाशित | २१ माघ २०७८, शुक्रबार १७:३२