प्रतिनिधिसभा बैठक आइतबार बोलाइयो, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुख अग्नी प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गर्नु भएको छ । बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।

त्यस्तै, आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’  पेश गर्ने रहेको छ ।

राष्ट्रियसभाको बैठक सोमबार बस्ने

उता राष्ट्रियसभाको बैठक भने सोमबार बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाउनु भएको हो । यसअघि गत माघ २ गते अर्को सूचना नआउन्जेललाई बैठक स्थगित गरिएको थियो ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा भनिएको छ,‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’


प्रकाशित | १५ माघ २०७८, शनिबार २०:३८