काठमाडौं : चाबहिल–साँखु सडकखण्डको कामको अवस्था बुझन अनुगमन गरिएको छ । गत असार मसान्तमै सम्पन्न हुनुपर्ने सडकको काम विभिन्न कारणले पूरा नहुन नसकेपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त टोलीले आइतबार सडकको अनुगमन गरेको छ ।

आयोजना प्रमुख कृष्ण ओझा र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसहित जनप्रतिनिधि र प्राविधिकहरुको संयुक्त टोलीले सडकखण्ड अन्तगर्तको दक्षिण ढोकादेखि ब्रम्हखेल सम्मको सडकको अनुगमन गरेको हो । सडकमा विशेष गरि पिच, ढल र वालको काम गर्न बाँकि छ ।

अनुगमनको क्रममा बनदेवी खानेपानी उद्योबाट निस्केको पानीले सडक बिग्रीएको पाइएको छ । टोलीले सडक बिग्रेको पाएपछि कम्पनी सञ्चालकलाई सचेत गराएको छ भने बिग्रेको सडक तत्काल मर्मत गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, बालुवा खानीबाट निकालीएको बालुवा सडकमा थुपारेर बाटो नै अवरोध गरिएको र बाटो बिगारिएको पाइएपछि तत्काल हटाउन आग्रह गरिएको छ । अनुगमनकै क्रममा सडकमा ढल निकास गरिएको ढलको ढकनी हराएको पाइएको छ । सडक पेटीमा जथाभावी सामान राख्ने र पानी छाड्नेलाई पनि सचेत गराइएको छ ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले कहिले स्थानीय बासिन्दाको मुआब्जा विवाद त कहिले निमार्ण ब्यवसायीको लापरवाहीको कारणले पटक पटक समस्या आइरहेकाले आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि नगरपालिका र सडक विस्तार आयोजनाले आपसमा समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो ।

कागेश्वरी मनोहरामा पर्ने सडक खण्ड अन्तर्गत गत वर्षदेखि काम भएर धेरै जसो समस्या समाधान हुँदा हुँदै पनि ब्रम्हखेल सडक खण्डमा ढल र सडक पिच गर्न बाँकि रहेको, डाँछीको ओरालोमा पिच पूरा गर्न बाँकि रहेको, थलीमा वाल र केहि ठाउँमा पिच गर्न बाँकि रहेको र तिवारी टोलमा विवादका कारण पिच गर्न बाँकि रहेको अवस्था छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले दक्षिणढोका, तिवारी टोलमा भएको कन्भर्ट असान्दर्भीक भएकाले ठूलो बनाउका लागि र सडक खण्डको बाँकि काम तत्काल सम्पन्न गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको बताउनुभयो । नगर प्रमुख कार्कीले सडक खण्डमा अहिले पनि निर्माण ब्यवसायीको लापरवाही रहेको बताउँदै बाँकि काम दसै अगाडि नै शूरु गर्ने गरि समन्वय भइरहेको बताउनुभयो ।

नगर प्रमुख कार्कीले बाटो विस्तारको क्रममा आ-आफ्नो ठाउँबाट योगदान गरेर हार्दिकता देखाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

आयोजनाका प्रमुख ओझाले काम भटाभट्ट भए अबको तीन महिना र ढिलोमा ६ महिनामा काम सम्पन्न गर्ने गरि अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

वडाध्यक्ष शंकर पाण्डेले निर्माण ब्यवसायीले राम्रो काम नगर्दा निर्माण सम्पन्न गर्न ढिलाई भइरहेको बताउनुभयो । सडक खण्ड अन्तर्गत ५ नंं वडाभित्र साइट पेटी र केहि ठाउँमा कालोपत्रे गर्न बाँकि रहेकाले समन्वय गरेर काम भइरहेको उहाँको भनाई छ ।

अनुगमनमा ६ नंं वडाका वडाध्यक्ष प्रकाश फुयाँल, योजना शाखा प्रमुख सुदीप लामिछाने र प्राविधिक शाखा प्रमुख नवीन पाण्डे लगायत सहभागि हुनुहुन्थ्यो ।
प्रकाशित | ७ आश्विन २०८०, आईतवार २०:१८