परराष्ट्रमन्त्रीलाई कोरोना प्रभावीत ११ देशका एनआरएनए अध्यक्षले दिए यस्तो सुझाव

काठमाडौं : कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको बेला विदेशमा रहेका गैर आवासीय नेपालीको अवस्था बुझन परराष्ट्र मन्त्रालयले विभिन्न सरोकारावाला निकायसँगको छलफललाई तीब्रता दिएको छ । मन्त्रालयले भारतलगायत प्रवासमा रहेका गैर आवासीय नेपालीको अवस्था कस्तो छ ? नेपाल सरकारले कस्तो कदम चाल्नुपर्छ ? भन्दै सरकोरावालासँगको छलफललाई तीब्रता दिएको हो ।

विभिन्न कुटनीतिक नियोगहरुसँग एक चरण छलफल गरिसकेको मन्त्रालयले आज विश्वभर रहेका गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएका सम्बन्धीत देशका अध्यक्षसँग छलफल गरेको छ । एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्तसहित कोरोना प्रभावीत देशका एनसिसी अध्यक्षसँग मन्त्रालयले छलफल गरेको हो ।

मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित ११ देशका गैर आवासीय नेपाली संंघ अध्यक्षसँग भिडियो कन्फ्रेन्स गर्नुभएको हो । कन्फ्रेन्सको क्रममा विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरुले आफनो देशमा रहेका नेपालीको अवस्था, एनआरएनएले गरिरहेको कार्य र नेपाल सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गराएका थिए ।

एनआरएनए यूएई अध्यक्ष प्रकाश कोइरालाले मध्यपूर्वको सबैभन्दा बढी समस्या यूएईमा रहेको बताउनुभयो । यूएईमा झन्डै ४ लाख नेपाली रहेको र भोलीका दिनमा नेपालीको भयावह अवस्था आउँन सक्नेतर्फ सरकारलाई सचेत गराउँदै सरकार जिम्मेवार र आफनो दायित्वबाट विमुख हुन नहुने भनाइ राख्नुभयो ।

राज्यले आफना नागरिकको दायित्व निर्वाह गर्नको लागि कि खानाको ब्यवस्था गर्नुपर्यो कि नेपाल फीर्ता लैजाने वातावरण बनाउनुपर्ने भन्दै राज्य जिम्मेवारीबाट भाग्न नहुने बताउनुभयो ।  आफना नागरिक जहाँ भए पनि तिनको बाच्न पाउने र देश फर्कन पाउने अधिकारको ग्यारेन्टी सरकारले गर्नुपर्ने भनाइ राखेको विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष कोइरालाले भन्नुभयो ।

अध्यक्ष कोइरालाले यूएईमा ७१ जना नेपाली सक्रमीत रहेको, २ जनाको मृत्यु भएको र २ जना निको भइसकेको जानकारी समेत गराउनुभएको थियो । एनआरएनए यूएईले समस्यामा परेका नेपालीलाई अहिलेसम्म १५ सय जनालाई राहत सहयोग उपलब्ध गराइसकेको जानकारी गराउँदै एनआरउनएले लामो समय खाना ख्वाउन नसक्ने भएकाले सरकारले बेलैमा सोच्नुपर्ने बताउनुभयो ।

साथै, विद्यार्थी भिसामा आएका नेपाली मर्कामा परेको , भिजीट भिसामा आएका समस्यामा परेको, अवैधानीक रुपमा बसोबास गरिरहेका नेपालीको विचल्ली भएको विषयमा पनि जानकारी गराउनुभयो ।

त्यस्तै, अध्यक्ष कोइरालाले सबै नागरिकलाई एकै पटक स्वदेश फीर्ता गर्न नसके पनि दैनीक चार पाँच हजार लैजान सकेको खण्डमा सरकारलाई क्वारेन्टाइनको ब्यवस्थापन गर्न सहज हुने सुझाव पनि राख्नुभयो ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले पोर्चुगलमा पनि कोरोना भाइरसको बढ्दो संक्रमण संगै देशमा आपकालीन स्वास्थ्य संकटकाल घोषणा गरेको, केहि संख्यामा नेपालीहरु पनि संक्रमित भएको र केही हस्पिटलमा उपचारार्थ रहेका, केही घरमै आइसोलेसनमा बसिरहेको र उपचारको सुविधा र गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।

पोर्चुगलमा रहेका नेपालीहरुलाई परेको र पर्न सक्ने समस्याहरुलाई मध्यनजर गरि लिस्बनस्थित अवैतनिक बाणिज्यदुतावासको संरक्षकत्व र एनआरएनए पोर्चुगलको अगुवाईमा सर्वपक्षीय राहत तथा सचेतना समिति र विभिन्न उपसमितिहरु गठन गरि कामहरु तीब्र रूपमा अगाडि बढिरहेको, एनआरएनए पोर्तुगलले पहिलो चरणमा १५० जना भन्दा बढीलाई खाद्यान्न राहत वितरण गरिसकेको,  फेरि लगत संकलन गरि राहत वितरण गर्ने तयारी भइरहेको र भाइरसबाट बच्न ब्यापक रुपमा सचेतता फैलाउने काम निरन्तर जारी रहेको बारे अवगत गराएको पनि अध्यक्ष गैरेले जानकारी गराउनुभयो ।

त्यस्तै, पोर्चुगलका विभिन्न सरकारी निकाय, हस्पिटल, स्थानीय जनप्रतिनिधि र गैर सरकारी संस्थाहरुसंग समन्वय गरि नेपालीहरुका समस्या समाधानको लागि सहजीकरणको लागि पहल भइरहेको बताएको र मन्त्री ज्यूले पोर्चुगलबाट विभिन्न कारणले नेपाल जान चाहाने र जानू पर्ने जरुरी भएका साथीहरूकालागि ब्यबस्था मिलाउन आग्रह गर्दा अप्रिल ३० तारिख पछि उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिनुभयो, गैरेले भन्नुभयो ।

अध्यक्ष गैरेले पोर्चुगिस पासपोर्ट लिइसक्नु भएका अर्थात नेपाली मुलका गैर आवासीय नेपालीलाई नेपाल जाँदा पर्ने कठिनाइ र उहाँहरुको हित र सुविधाका सन्दर्भमा स्पष्ट र सहज वातावरण बनाइदिन आग्रह समेत गर्नुभयो ।

एनआरएनए साउदी अरवका अध्यक्ष तेज बहादुर थापाले साउदीमा कोरोनाको महामारीका कारण भयावहको अवस्था सिर्जना भएको विषयमा जानकारी गराउनुभयो ।  अध्यक्ष थापाले कन्फ्रेन्समार्फत नेपाल सरकारबाट नियमित रुपमा नेपाली नियोगहरुसँग सम्वाद र समन्वय गरि नेपालीहरुको अवस्थाबारे जानकारी हासिल गर्न र ३ लाख ५० हजार बढी नेपाली कामदारको बारेमा बेलैमा सोच्न सरकारसँग माग  गर्नुभयो ।

‘साउदीमा कार्यरत नेपालीहरुमा अधिकांशको रोजगारी गुमेको अवस्थामा कतिपयलाई खान बस्नको समेत समस्याहरु आइपरेको गुनासाहरु आएको र रोजगारी गुमाउनु पर्दा ३ लाख ५० हजारको हाराहारीमा साउदीमा कार्यरत नेपालीहरुको भविष्य अन्यौलमा रहेको विषयमा जानकारी गराए’, अध्यक्ष थापाले विश्व सन्देशसँग कुराकानी गर्दै भन्नुभयो । साथै समग्र मध्य पूर्वको अवस्था  साउदीको जस्तै रहेको विषयमा पनि जानकारी गराएको अध्यक्ष थापाले बताउनुभयो ।

एनआरएनए इटालीका अध्यक्ष देव राज गुरुङले कोरोनाले कुन हदसम्म कस्तो रुप लिन्छ र लकडाउन लम्बिन्छ भन्ने टुंगो नभएकाले इटालीमा रहेका नेपालीको लागि पनि सरकारले अत्यावश्यक कुरामा जोड दिनुपर्ने विचार राख्नुभयो । इटालीमा अधिकांश नेपालीहरु होटल, रेष्टुरेन्टमा कार्यरत रहेको र महामारी नियन्त्रणमा आएपछि पनि धेरै नेपालीले रोजगारी गुमाउन सक्नेतर्फ सरकारलाई जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुङले विश्व सन्देशसँग कुराकानी गर्दै यदी त्यस्तो अवस्था आए स्वदेश फर्कन चाहाने नेपालीलाई फ्रि टिकटको वन्दोवस्त गर्नुपर्ने अवस्था आउँन सक्ने मन्त्री ज्ञवालीलाई जानकारी गराएको बताउनुभयो ।  अध्यक्ष गुरुङले अहिलेको लागि कोही नेपाली समस्यामा परे वा कसैले सम्पर्क गरे महावाणिज्यदूतावाससँग मिलेर राहत वितरण गरिरहेको तर लामो समय चलिरहे भने राहत वितरणमा पनि कठिन हुन सक्ने भनाइ राखेको बताउनुभयो ।

एनआरएनए अमेरिका अध्यक्ष सुनील साहले अमेरिकामा अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाइसकेको, अनुमानीत ८ सय भन्दा बढी प्रभावीत भएको, विद्यार्थीहरु बढी मर्कामा परेको जानकारी गराउनुभएको थियो । अध्यक्ष साहले दिनुभएको जानकारी अनुसार मन्त्रीबाट अमेरिकाबासी नेपालीलाई स्थानीय स्तरमा पाउने सेवा सुविधा लिन र जानकारी राख्न अनुरोध गर्नुभएको थियो ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले अस्ट्रेलियामा नेपाली र विद्यार्थीको अवस्था, एनआरएनएले गरिरहेको राहत वितरण लगायतका विभिन्न विषयमा सरकारको ध्यानर्कषण गराउनुभएको थियो ।

अध्यक्ष कँडेलले नेपाली राजदूतावाससँगको समन्वयमा सबै समुदायलाई समेट्दै संयुक्त रुपमा कोष खडा गरेर राहत वितरण कार्यलाई तीब्रता दिइरहेको जानकारी गराउँदै भविष्यमा रोजगारीको लागि चेतनामूलक कार्यक्रम सञ्चालन ल्याउन लागिरहेको बताउनुभयो ।

अस्ट्रेलियामा कोही पनि नेपाली भोको पेट सुत्न नपरोस भनेर नेपाली राजदूतावासले साधन र स्रोतले म्याएसम्म काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै नेपाल फिर्ता जान चाहानेलाई सकेसम्म छिटो ब्यवस्था गर्न आग्रह पनि गर्नुभयो ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानमा अहिलेसम्म दुई जनामा कोरोना सक्रमण पुष्टि भएको बताउनुभयो । अध्यक्ष भण्डारीले धेरैको बुबा आमा भने स्वदेश फीर्ता हुन चाहेकोले सरकारले आफनो देश फर्काउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष भण्डारीले विश्व सन्देशसँग कुराकानी गर्दै भन्नुभयो, ‘हामीले सरकारलाई जापानभन्दा मध्यपूर्वमा बढी केन्द्रित हुन सुझाव दियौं, सबैलाई एकमुष्ट स्वदेश फीर्ता गर्न नसकिए पनि अति समस्यामा परेकालाई भने र्फीता गर्नुपर्नेमा जोड दियौं ।’

एनआरएनए फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) ले नेपाली राजदूतावासँग समन्वय गरि संयुक्त रुपमा सबै संघसंस्था मिलेर समस्यामा परेका नेपालीको लागि काम गरिरहेको जानकारी गराउनुभयो । फान्समा ५ देखि ६ हजार नेपाली रहेको, अहिलेसम्म कोही नेपालीको पनि मृत्यु नभएको जानकारी गराएको विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष शाहीले भन्नुभयो ।

त्यस्तै, अध्यक्ष शाहीले फान्समा अहिलेसम्म मृतकको संख्या २० हजार नाघिसकेको, धेरै भन्दा धेरै जनसंख्यामा कोरोना परीक्षण गरिसकेको समेत जानकारी गराउनुभएको थियो ।

एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले जर्मनीमा नेपालीको अवस्था, एनआरएनएले गैर आवासीय नेपालीलाई गरिरहेको सहयोग लगायतको विषयमा जानकारी गराउनुहुँदै मध्यपूर्वमा रहेका नेपालीका समस्यामा बढी केन्द्रित हुन सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष न्यौपानेले एनआरएनएले सरकारलाई सक्दो सहयोग गरिरहेको बताउँदै अझ सकेको सहयोग गर्न तयार रहेको भन्दै सरकारीस्तरबाट गर्नुपर्ने पूर्वतयारी गर्न भने ढिला नगर्न सुझाव दिएको विश्व सन्देशलाई जानकारी गराउनुभयो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले विशेष गरि बेलायतमा रहेका नेपाली विद्यार्थी, गोर्खाहरुको सवालमा सरकारको जवाफदेहीताको विषयमा सरकारको ध्यानर्कषण गराउनुभयो । साथै अध्यक्ष गुरुङले भ्रमण तथा अन्य शिलशिलामा छोटो अवधीको लागी बेलायत आएर यतै रोकिन बाध्य नेपालीहरुको उद्दारमा नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

जवाफमा मन्त्री ज्ञवालीले प्रवासमा संकटमा रहेका हरेक नेपालीलाई नेपाल सरकारले हेर्ने बताउनुभएको र उहाँले अहिलेको हाम्रो प्रमुख प्राथमिकता जीवन रक्षाको लागि हुनुपर्ने बताउँदै लकडाउन खुल्नासाथ नागरिकहरुलाई नेपाल फर्काउने पहल शुरु गरिने बताउनुभएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

बैठकमा सहभागी अध्यक्षहरुले विद्यार्थीहरु, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायत विषयमा मन्त्री समक्ष आ–आफ्ना भनाइ राखेका थिए ।

उनीहरुले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जान सक्ने भन्दै दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव समेत दिएका थिए ।

एसिया प्याशिफिक देखि मध्य पूर्व, यूरोप र अमेरिकासम्मका अध्यक्षको सहभागिता रहेको कन्फ्रेरेन्समा सम्बन्धीत देशका अध्यक्षहरुले राज्यले नेपालमा रहेका नागरिक सराह प्रवासमा रहेका नागरिकलाई पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

राज्यलाई हत्तोसाहित हुने कार्य नगरिदिन र सहयोग गर्न मन्त्री ज्ञवालीको गैर आवासीय नेपालीलाई आग्रह

मन्त्री ज्ञवालीले राज्यले निर्वाह गर्नुपर्ने भूमिका निर्वाहमा कुनै कशूर बाँकि नराखेको र आगामी दिनमा समेत नराख्ने बताउँदै राज्यलाई हत्तोसाहीत हुने खालको कार्य नगरिदिन सबैमा आग्रह गर्नुभयो । अहिले देशमा मात्र नभएर विश्वभरि नै कोरोना महामारीको रुपमा फैलिरहेको यथार्थतालाई बुझिदिन आग्रह गर्नुहुँदै राज्यले सिमीत स्रोत र साधनको बावजुत पनि सक्दो पहल गरिरहेको बताउनुभयो ।

Image may contain: 2 people

ज्ञवालीले भारतबाहेक विदेशमा रहेका ४० लाख नेपालीमध्ये १० प्रतिशत फीर्ता गर्दा पनि ४ लाख हुन आउँने भन्दै सानो संख्यामा नेपालीलाई स्वदेश फीर्ता गर्दा के कस्तो तयारी गर्नुपर्छ भनेर ब्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो । विदेशबाट स्वदेश फीर्ता ल्याइहाल्नु परेमा पनि यहाँ सुरक्षीत बस्ने ठाउँ, खाना लगायत हरेक कुरामा राज्यले ध्यान दिनुपर्ने भएकाले सरकारले १० प्रतिशत मात्र फीर्ता ल्याउनुपर्ने अवस्था आएमा के गर्ने भनेर आवश्यक पूर्वतयारी गरिरहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले थप्दै भन्नुभयो, ‘हामी अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्किन प्रकृया सुरु गछौं, सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकारात्मक छ ।’

Image may contain: 6 people, including Hem Raj Sharma and Suneel Sah, people sitting and indoor

सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न र सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाको भने प्रशंसा गर्नुभयो ।

सरकारलाई सहयोग गर्न तयार छौ, तत्काललाई मध्यपूर्वको समस्यामा केन्द्रित भइदिनूस् : कुमार पन्त

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  नेपाल सरकारलाई सहयोग गर्न एनआरएनए तयार रहेको बताउनुभयो ।  एनआरएनए नेपाल सरकारलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको र विभिन्न देशमा कोरोना प्रभावीत भएका नेपालीको लागि सक्दो सहयोग गरिरहेको  जानकारी गराउनुभयो ।

अध्यक्ष पन्तले भन्नुभयो, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’

अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसँग मिलेर काम गर्न पनि तयार रहेको बताउनुभयो ।

Image may contain: 2 people, people sitting and indoor

उहाँले युरोप अमेरीकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताउँदै भन्नुभयो, ‘सरकारसँग युरो अमेरिकाको धेरै अपेक्षा छैन तर श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ ।’

संघका महासचिव डा. हेमराज शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्न सरकारलाई सुझाव दिनुभयो ।

Image may contain: Poonam Palmo Konmei Tamusyo, sitting and indoor

गैरआवासीय नेपाली संघको नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिमखडाले वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले संघको साधन स्रोतले मात्र नपुग्ने हुँदा सरकारको तर्फबाट पनि राहत कार्यक्रममा सहकार्यको लागि आग्रह गर्नुभयो ।

बैठकमा परराष्ट्र सचिव शंखर बैरागी लगायत परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिती थियो ।


प्रकाशित | ९ बैशाख २०७७, मंगलवार ०१:१०