प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

काठमाडौं : प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उहाँलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिनुभको थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । बत्तीस वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लाग्नुभएका थपलिया विसं २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता हुनुभएको थियो ।
तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गर्नुभएका उहाँलेले राजनीति शास्त्रमा एमए र कानून विषयमा एलएलएम गर्नुभएको छ ।


प्रकाशित | १० श्रावण २०७६, शुक्रबार १०:३८