मनाङमा जनसंख्याभन्दा बढी मतदाता संख्या

मनाङ– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ ।विभागको प्रारम्भिक विवरण अनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने विसं २०७४ को जनसंख्याभन्दा अहिलेको संख्या २५५ ले घटेको देखिएको छ ।उक्त तथ्यांकअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाता संख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसंख्याभन्दा ९६७ संख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता संख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेकामध्ये कुन चाहिँ तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसंख्या रहेको छ । प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १८:०४