राष्ट्रिय सभा सदस्य निर्वाचन शूरु, रिक्त १९ पदमा ४३ उम्मेदवारको प्रतिस्पर्धा

काठमाडौँ – राष्ट्रिय सभा सदस्यका लागि मतदान शूरु भएको छ । सातवटै प्रदेशको राजधानीमा बुधबार बिहानबाट मतदान शूरु भएको हो । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र छन् । । मतदान ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको केहीबेरमै मतगणना सुरु गर्ने जानकारी गराउनु भयो । बुधबार अबेरसम्म सातै प्रदेशको परिणाम आउने गरी मतगणना गर्ने तयारी छ ।

प्रत्येक मतदान केन्द्रमा १० जना कर्मचारी नियुक्त गरिएका छन् । राष्ट्रिय सभाको रिक्त रहेको १९ पद छ वर्षे कार्यकालका लागि मतदानबाट चयन हुनेछ । निर्वाचनमा कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा सदस्यका लागि हरियो तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि रातो रङ्गको मतपत्रको व्यवस्था गरिएको छ ।

प्रदेशअनुसार उम्मेदवार र दल फरक रहेकाले सबै प्रदेशका मतपत्र अलग–अलग छन् । प्रदेशमा रिक्त रहेको क्लस्टरबमोजिम मतपत्रको सङ्ख्यासमेत फरक रहनेछ । प्रदेश १ मा तीन पदका लागि निर्वाचन हुने हुँदा प्रत्येक मतदाताले तीनवटा मतपत्र पाउनु हुनेछ ।

सातवटै प्रदेशमा कुल दुई हजार २५ मतदाता छन् । निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनुहुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ ।


प्रकाशित | १२ माघ २०७८, बुधबार ०९:४२