को हुन एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्त ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार कुमार पन्त एक सालीन ब्यक्तीत्व हुनुहुन्छ । अध्यक्ष उममेदवार रहनु भएको पन्त लामो समयदेखि एनआरएनमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ । विशेष गरि एनआरएनए स्थापनाकालदेखि नै तल्लो तहबाट काम गर्दै आउनुभएको पन्त अहिले अध्यक्षको उम्मेदवार रहीरहँदा पन्त को हुनुुहुन्छ भन्ने विषयमा हामीले छोटकरीमा उर्ताने प्रयास गरेका छौ:-

-कुमार पन्तको जन्म सन् १९७६ मा भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा उहाँले दोस्रो कार्यकाल निर्वाह गरिसक्नु भएको छ ।

-गोर्खाको फुजेलमा जन्मिनु भएको पन्त विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी जानुभएको थियो । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्नुहुन्छ ।

-उहाँको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।

-सन् २००४ मा एनआरएन अभियानमा संलग्न पन्त अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक हुनुभयो । सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुग्नुभयो । सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता आईसीसी उपाध्यक्षको जिम्मेवारीमा रहनुहुन्छ ।

-विभिन्न देशमा छरिएका नेपालीलाई संगठित, राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उहाँ विश्वभरिका एनआरएनमाझ परिचित हुनुुहन्छ ।

-नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि सक्रिय रहँदै  आउनुभएको छ ।

-भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटीनु भएको थियो ।

-स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय हुनुहुन्छ ।


प्रकाशित | २६ आश्विन २०७६, आईतवार ११:००