भक्तपुर – सूर्यविनायक नगररपालिकाले काभिड १९ विरुद्ध खोपको ‘बूस्टर डोज’ बिहीबारबाट लगाउने भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विक्रम मगरले आज एक सूचना जारी गर्दै बिहीबारबाट खोपको ‘बूस्टर डोज’ लगाइने जनाएको हो ।
नगरपालिकाभित्रका अग्रपत्तीमा खटिने र ६० वर्ष देखि माथिका नागरिकलाई कोभिडशिल्ड, एस्टाजोनिक र भेरोसन खोपको दोस्रो मात्र लगाएको ६ महिना पूरा गरेकालाई ‘बूस्टर डोज’ लगाइने भएको हो ।
पहिलो चरण अन्तर्गत ६ र ७ गते र दोस्रो चरण यही माघ १४ गते सञ्चालन गरिनेछ । पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनीक फोहोर संकलन सरसफाई कर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सार्वजनीक क्षेत्र जस्तो सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिगं सेवा, सञ्चारकर्मी, पत्राकार, एम्बुलेन्स तथा शव वाहन चालकहरु, सार्वजनिक यातायातका चालक तथा सहचालक र दिर्घरोगीहरुलाई लगाइने जनाइएको छ ।
त्यस्तै, दोस्रो चरणमा ६० वर्षमाथिका नागरिकहरु र २०७८ असार मसान्तसम्ममा दोस्रो मात्रा पूरा गरेका ब्यक्तिहरुलाई लगाइनेछ । तर यो खोप १४ गते देखि लगाइने छ ।
नगरपालिकाले नगरभित्रका विभिन्न ११ ठाउँबाट खोप लगाउन सकिने जनाएको छ । नपाका अनुसार १ वडाको सिरुटार स्वास्थ्य चौकी, २ वडाको बालकोट स्वास्थ्य चौकी, ३ वडाको नगर स्वास्थ्य केन्द्र बालकोट, ४ वडाको सूर्यविनायक नगरपालिका अस्पताल र शहरी स्वास्थ्य केन्द्र तर्खगाल, ५ वडाको कटुञ्जे स्वास्थ्य चौकी, ६ वडाको निवनिर्मित नगर स्वास्थ्य केन्द्र भवन, ७ वडाको गुन्डु स्वास्थ्य चौकी, ८ वडाको सिपाडोल स्वास्थ्य चौकी, ८ वडाको नंखेल स्वास्थ्य चौकी र १० वडाको चित्तपोल स्वास्थ्य चौकी तोकिएको छ ।
खोप बिहान १० बजेदेखि साझ ६ बजेसम्म लगाइने छ । खोप लगाउन आउँदा दोस्रो मात्रा खोप पूरा गरेको कार्ड र परिचयपत्र अनीवार्य रुपमा लिई आउँन पनि आग्रह गरेको छ ।
प्रकाशित | ५ माघ २०७८, बुधबार २२:५९