कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यस्तै, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय सरकारले गरेको छ।

पार्टी प्यालेस र ठूला होटलमा यीलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाईभन्दा बढी संख्या उपस्थित गराउन नपाइने, रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि सरकारले गरेको छ।

सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय पहिलो चरणमा आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एकतिहाई मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको छ।

यस्तै, सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ । कलेज तथा स्कुलको नियमित पठनपाठन भर्चुअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।


प्रकाशित | १ माघ २०७८, शनिबार ०८:१८