लिपुलेक प्रकरणमा कांग्रेसले सार्वजनीक गर्‍यो आधिकारिक धारणा, भन्यो – लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक

काठमाडौं – लिपुलेक प्रकरणमा नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनीक गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताउँदै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’

संविधान संशोधनमार्फत संसदले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत भएको कांग्रेसले बताएको छ ।

लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।

नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहो¥याउन चाहन्छ ।

१) लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।

२) नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।
३) कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

४) नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

५) दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।

६) नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

७) दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा , गगनकुमार थापा
महामन्त्री

सायद पाठ को तस्बिर हुनसक्छ


प्रकाशित | ३० पुष २०७८, शुक्रबार २०:३२