पौडेल नेतृत्वको एनआरएनए जापानले भन्यो – हामी नै आधिकारिक हौ, अर्को संस्था दर्ता हुनै सक्दैन

टोकियो – एनआरएनए जापानले संस्था अघिल्लो कार्यसमितीबाट कानुनी रूपमा आफूहरुको नाममा आइसकेको बताएको छ । एनआरएनए जापानमा अनिता गुरुङको नेतृत्वमा अर्को एनआरएनए जापान संस्था बनेपछि शिव प्रसाद पौडेल नेतृत्वमा रहेको कार्यसमितिले जापानमा एनआरएनए भन्ने अर्को संस्था दर्ता हुन नसक्ने बताएको हो ।

एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै २०१९-२०२१ कार्यकालको लागि कार्यवाहक अध्यक्ष रहनु भएको गुरुङको कार्यसमितिले ६ महिनाभित्र निर्वाचन गर्न ३३ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठनको घोषणा गरेको थियो । बुधबार बसेको बैठकले कार्यसमिति पुनर्गठन गर्दै अघिल्लो कार्यबाहक अध्यक्ष रहनु भएकी गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी समेत प्रदान गरेको घोषणा गरिएको थियो ।

तर पौडेल नेतृत्वको कार्यसमितिले आफूहरुले जापानको स्थानीय सरकारबाट तोहोन अर्थात कानूनी मान्यता प्राप्त गरिसकेकाले जापानमा एनआरएनए भन्ने अर्को संस्था दर्ता हुन नसक्ने बताएको हो ।

अध्यक्ष पौडेलले एनआरएनए र त्यो भित्रको बैकिङ कागजाज तोहोन लगायत अघिल्लो कार्यसमितीबाट कानुनी रुपमा आफूहरुको नाममा आइसकेकाले आफूहरु नै आधिकारिक र कानूनी मान्यता प्राप्त रहेको बताउनु भयो । पौडेलले एनआरएनए जापानको लोगो, लेटरहेड प्रयोग गर्ने कानूनी अधिकार कसैलाई नभएको बताउँदै कसैले दुरुप्रयोग गरे कानूनी कारवाही हुन सक्ने बताउनु भयो ।

आफूहरुले एनआरएनए जापानको स्थानीय सरकारदेखि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र एनआरएनएको केन्द्रीय कार्यालयसमेतबाट मान्यता पाइसकेको पौडेलले बताउनु भयो ।

त्यस्तै पौडेलले आफूले काठमाडौंमा दुई पटक बैठकमा बसेर विवाद सुल्झाउन खोजेको भए पनि विवाद समाधान गर्न नसकेको बताउनु भयो । एनआरएनए जापानमा चुनाव शूरु भएयतादेखि नै धाँधलीका घटना भएको स्वीकार्दै पौडेलले जापानमा विगतदेखिको कमीकमजोरी सच्याएर अगाडि बढ्न भने आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, एनआरएनए जापानको अघिल्लो कार्यसमितिको साढे २ करोड वरावरको कोष भने एनआरएनए जापानको प्रमुख संरक्षक समेत रहनु भएको आइसिसी पूर्व अध्यक्ष भवन भट्टको निगरानीमा रहेको बताइएको छ ।

यता विश्व सन्देशलाई पौडेल नेतृत्वमा रहेको कार्यसमितिको नाममा अघिल्लो कार्यसमिति हस्तान्तरण भएको डकुमेन्ट उपलब्ध भएको छ ।

 पौडेल नेतृत्वमा रहेको कार्यसमितिले पाएको कानूनी मान्यताको उपलब्ध डकुमेन्ट जस्ताको तस्तै

 

यस्तो छ एनआरएनए जाापानले जारी गरेको विज्ञप्ति

गैर आवासीय नेपाली संघ एनआरएनए जापानको २०२१-२०२३ कार्यसमितिको नेतृत्व शिव प्रसाद पौडेलले गरिरहनुभएको यहाँहरुलाई अवगत नै छ । एनआरएनए स्थापनाकाल देखि गैरआबासिय नेपाली संघ अन्तराष्ट्रीय कमिटीका निबर्तमान अध्यक्ष भबन भट्ट लगाएत हालसम्मका पूर्व अध्यक्षज्यु हरुको संरक्षणमा ,अन्तराष्ट्रीय समन्वय परिषद ,पररास्ट्रमन्त्रालय र जापान सरकारबाट समेत मान्यता प्राप्त भई सम्मानित व्यक्तित्वहरुको छत्रछायाँ र रेखदेखमा कानुनी रुपमा समेत जापानमा दर्ता भएको एक मात्र एनआरएनए रहेको छ र त्यो शिव प्रसाद पौडेलले नेतृत्वमा रहेको हो ।

जापान तथा नेपालको क़ानून अनुसार एकै नाम बाट दुई संस्था दर्ता प्रक्रिया हुन नसक्ने स्पष्ट नै छ ।
बैधानिक विधि मार्फत निर्वाचित भई वर्तमान कार्यसमितिले जापानवासी नेपालीहरुको हक हित र एकताको लागि सक्दो काम र आफ्ना प्रयासगरि समर्पित गरिरहेको छ ।यसै बिच समाजमा अराजक र अनावश्यक विवाद निकाल्न उद्दत केही व्यक्तिहरुले गैर कानुनी ढंगबाट एनआरएनए जापानको लेटर प्याड लगायतको सामग्री दुरुपयोग गरि गैर कानुनी तवरले गतिविधि गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

शिव प्रसाद पौडेल नेतृत्व बाहेकको जापानमा कुनैपनि एनआरएनएन जापान नामको संस्था नभएको पुन सबैमा जानकारी गराउँदछौं । अवैधानिक र गैरकानुनी रुपमा संस्थाको लोगो, लेटरहेड जस्ता सामग्री दुरुपयोग गर्दै एकताबद्ध जापानको नेपाली समाजलाई भाँड्ने किसिमले गतिविधि गरिरहेका त्यस्ता व्यक्तिको पछि नलाग्न समेत हार्दिक अपिल गर्दछौं ।

कोभिड संक्रमणको महामारि बर्तमान अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै काम र दैनिकी अघि बढाउनुहुन अनुरोध सहित एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई तपाईंहरुबाट प्राप्त साथ र सहयोग प्रति फेरीपनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

सुवास लामिछाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान ।


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १२:५५