नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३ हजार ७५ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५  जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। त्यस्तै, २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ।

हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यी तीन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

यस्तै, सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलालीमा पनि २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन। मुस्ताङ र मुगु बाहेक सबै जिल्लामा सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तो छ एक साताको कोरोना संक्रमणदर

पुस २२– ५४०

पुस २३– ९६८

पुस २४– ९४४

पुस २५– ११६७

पुस २६–१४४६

पुस २७– २४४४

पुस २८–३०७५


प्रकाशित | २८ पुष २०७८, बुधबार १७:३४