आज प्रधानमन्त्री देउवाको पिसीआर परीक्षण गरिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आइतबार पिसीआर परीक्षण गरिन लागेको हो ।

शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा बस्नु भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गर्नु भएको थियो । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि आजै पिसीआर परीक्षण गर्ने तयारी छ । उहाँ पनि आइसोलेसनमा हुनुहुन्छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आउनु भएको थियो ।


प्रकाशित | २५ पुष २०७८, आईतवार १३:०९