‘जोखनामा वर्तमान’ कवितासङ्ग्रह लोकार्पण

काठमाडौं – साहित्यकार डा. नवराज सुब्बाको कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ । हाम्रो आइडियाले प्रकाशित गरेको उक्त ई–बुकलाई थुप्रै डटकमले बजार व्यवस्थापन गरेको छ ।

यस सङ्ग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित कवि सुब्बाका कविता, मुक्तक र गीत सङ्ग्रहित छन् । विविध स्वादका ८६ वटा रचनाहरु ई–बुकमा सङ्ग्रहित छन् । कवितामा जीवन र जगतसित अन्तरक्रिया पाइन्छन् ।

कवितामा मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिबारे जानकारी र दृष्टिकोण छन् । जनस्वास्थ्य र वातावरणसम्बन्धी सचेतनामूलक सिर्जनामसेत समेटिएका छन् । काव्ययात्रामा कवि यहाँ आइपुग्दा समाजमा जोखना देख्ने परम्परागत एक पात्रका रुपमा आफूलाई पाएको कविले भूमिकामा बोलेका छन् ।

कवि सुब्बाको पद्यतर्फ यो कवितासङ्ग्रह सातौं कृति हो । सुब्बाका यसअघि ‘जीवन मेरो शब्दकोशमा’, ‘बीच बाटोमा ब्यूँझेर’, ‘यात्रा आधा शताब्दीको’, ‘चीत्कार’ गरी चार कवितासङ्ग्रह प्रकाशित छन् ।

उनका ‘सहिदलाई सलाम’ र ‘मन र माटो’ दुई गीतसङ्ग्रह पनि प्रकाशित भइसकेका छन् । गद्यतर्फ साहित्यकार सुब्बाका ‘मनको मझेरी’ र ‘समयको स्वाद’ दुई निबन्धसङ्ग्रह साहित्य जगतमा प्रकाशित छन् ।


प्रकाशित | २२ पुष २०७८, बिहीबार ०९:३६