एनआरएनए चुनाव: महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा महासचिव पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।

यो पटकको एनआरएनएको निर्वाचनमा स्पष्ट तीन टिम हुने देखिएको छ । नेतृत्वका लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल आचार्यले चुनाव लड्ने उद्घोष गरिसक्नु भएको छ । तीनै टिमले संस्थामा महत्वपूर्ण मानीएको महासचिव पदमा उठाउने उम्मेदवारको समेत टुंगो लगाइसकेको जनाएको छ । 

अन्य पदको अन्तिम टुंगो नलगाए पनि महासचिवमा केसी टिमबाट वर्तमान सचिव गौरी राज जोशी, आचार्य टिमबाट एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल र थापा टिमबाट ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीलाई अगाडि सारिएको छ । टिमको टुंगो लागेसँगै तीनै उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई ब्यापक बनाउँदै लगेका छन् ।

विशेष गरि केसी टिमका महासचिव पदका उम्मेदवार जोशीले प्रचार प्रसारलाई ब्यापक बनाउनु भएको छ । उता आचार्य टिमका महासचिव पदका उम्मेदवार डा. पौडेल भने भित्री तयारी गर्दै यतिखेर काठमाडौंमा आएर आफ्नो पक्षमा माहौल बनाउन लागिपर्नु भएको छ । थापा टिमका महासचिवका उम्मेदवार अधिकारी पनि यूकेबाट आफ्नो प्रचार प्रसारलाई ब्यापक बनाइरहनु भएको छ ।

को हुन् जोशी ?

हाल अमेरिकाको टेक्ससमा बस्दै आउनु भएको जोशी नेपालको चितवनमा जन्मिनु भएको हो । जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गर्नु भएको थियो । अमेरिकामै आइटीको अध्ययन पुरा गदै उतै आइटीको ब्यवसाय शुरु गर्नु भएको जोशी हाल आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुनुहुन्छ ।

सन् २००५ देखि एनआरएन अभियानमा जोडिनु भएको जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य रहनु भएको जोशी सन् २०१५ देखि एनआरएनएमा सक्रिय हुँदै आउनु भएको छ ।

सन् २०१७–०१९ मा एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकको जिम्मेवारी सम्पन्न गरेपछि जोशी हाल सचिवमा कार्यरत हुनुहुन्छ । सचिवमा निर्वाचित भएपछि जोशी स्मार्ट एनआरएनएको संयोजक भएर स्मार्ट एनआरएन निर्माणमा लागिपर्नु भएको छ ।

त्यस्तैगरि, ‘एनआरएनए मोबाइल ब्लड बैंक बस’ परियोजनाको समेत संयोजक हुनुुहुन्छ । जोशी संयोजक रहेको मोबाईल ब्लड बस परियोजनाले चितवनमा पहिलो पटक एनआरएन मोबाईल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने सुदुरपश्चिम प्रदेशमा पनि दोस्रो एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्ने अन्तिम तयारीमा जुटेको छ ।

जोशीले गैर आवासीय नेपालीका लागि दोहोरो नागरिकता, लगानी, विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरण जस्ता विषय मुख्य एजेन्डाका रुपमा अगाडि सार्नु भएको छ ।

को हुन् डा. पौडेल

नेपालको तनहुँ जिल्लाको व्यास नगरपालिका-९ सिस्नेरीमा जन्मिनु भएको डाक्टर केशव पौडेल मेडिकल डाक्टर हुनुहुन्छ । मेडिकल क्षेत्रमा थप अध्ययनका लागि अमेरिका जानु भएको डा. पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत हुनुहुन्थ्यो । डा. पौडेल सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा जानु भएको हो ।

न्युयोर्कको अपस्टेटबाट चार वर्ष अध्ययन पूरा गरी एमडी र टेनिसीबाट एमबीएको उच्च अध्ययन पूरा गरी सन् २०१४ देखि अमेरिकाको न्यु मेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा डा. पौडेल कार्यरत हुनुहुन्छ ।

हाल अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष पदमा समेत रहनु भएको डा.पौडेल सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय हुँदै आउनु भएको छ । सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल एनआरएनए अमेरिकाको नेतृत्व समाल्नु भएको पौडेल त्यसपछि सन् २०१९–०२१ कार्यकालमा केन्द्रीय उपाध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । त्यो बेला उपाध्यक्षमा झिनो मतले पछाडि पर्नु भएको पौडेल आगामी कार्यकालको लागि महासचिवको उम्मेदवारको रुपमा खडा हुनु भएको हो ।

विशेष गरि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन, संस्थागत विकास र पारदर्शीता, मध्यपूर्वमा श्रमिकका समस्या, जापान र अष्ट्रेलियामा विद्यार्थीका समस्या समाधानका लागि आवाज उठाउने गरि उहाँले आफ्ना एजेन्डा अगाडि सार्नु भएको छ ।

को हुन् अधिकारी

नेपालको गोरखा जिल्लाको भुजेलमा जन्मिनु भएको विनय अधिकारी यूकेमा बस्दै आउनु भएको छ । मध्यपूर्वमा सात वर्ष बसेर अध्ययनको सिलसिलामा यूके पुग्नु भएको अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष हुनुुहुन्छ ।

सन २०१३ बाट एनआरएनए अभियानमा लाग्नु भएको अधिकारीले सन् २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिवको जिम्मेवारी समाल्नु भयो । त्यसपछि सन् २०१९–०२१ मा केन्द्रीय सचिव पदको प्रत्यासी रहनु भएको थियो । नेपालमा विशेष गरि शैक्षिक क्षेत्रमा लगानी गर्नु भएको अधिकारी सफल ब्यवसायीको रुपमा चिनीनुहुन्छ । सञ्चारकर्मी समेत रहनु भएको अधिकारी अन्तराष्ट्रिय पत्रकार महासंघको सदस्य हुनुहुन्छ ।

कोभिड महामारीको दोस्रो लहरमा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजमार्फत १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सन्ट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सन्ट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरिएको थियो । जसमा समाजमार्फत अधिकारीको नेतृत्वमा करोडौं वरावरको स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

अधिकारीले आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गर्दै गोर्खा मुद्दालाई निष्कर्षमा पुर्याउन, प्रत्यक्ष निर्वाचनको व्यवस्था लागू गर्न, सम्पत्तिको हक स्थापित गर्न, नागरिकता निरन्तरताको सुनिश्चितता गर्न, राजनीतिक दलहरुसँग लविङ गर्न उच्चस्तरीय समिति बनाउन, नयाँ पुस्तालाई एनआरएनएमा ल्याउन, श्रमिकको मुद्दा सम्बोधन गर्न, उम्मेदवारी शुल्क न्युन गर्न, एनआरएनए होटल र एनआरएनएको नयाँ कार्यालय स्थापना, स्वायत्त एनसीसी बनाउन, नेपालमा लगानी बढाउन, विदेशमा सिकेको सीप र ज्ञान नेपालमा हस्तान्तरणलगायत एजेन्डा अगाडि सार्नु भएको छ ।


प्रकाशित | १९ भाद्र २०७८, शनिबार १८:२४