बेलायतले नेपाली नर्सिङ जनशक्ति माग गर्दै,कति हुन्छ सेवा सुविधा ?

काठमाडौं– बेलायतले नेपाली नर्सिङ जनशक्ति माग गर्दै श्रम सम्झौताका लागि प्रस्ताव गरेपनि नर्सिङ जनशक्ति पठाउन प्रक्रिया भने सुरु भएको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालले बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया के कस्तो हुने भनेर टुंगो नलागेको बताउनुभयो।  सरकारले आगामी बैशाखदेखि असारसम्ममा मापदण्ड तय गरेपछि नर्सिङ जनशक्ति पठाउन प्रक्रिया सुरु हुने सहायक प्रवक्ता डा भुसालको भनाइ छ।

‘अंग्रेजी क्यालेन्डर मे देखि जुलाईसम्मबाट बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया सुरु हुन्छ होला, त्यतिबेलासम्म हाम्रो आन्तरिक तयारी सकिन्छ’ । ‘निर्देशिकाहरु बनाउनपर्छ, विभिन्न चरणमा छलफलहरु गर्नुपर्छ, यसका लागि यही पुस ३० गते पहिलो चरणको बैठक समेत बस्ने तय भइसकेको छ।’ शुरुमा २ हजार जनशक्तिलाई दुई सय, तीन सय वा ४ सयका दरले पठाउन सक्ने  डा भुसालले बताउनुभयो।

नेपाल सरकारले इजरायलमा नेपाली श्रमिक पठाउन अपनाएको मोडालिटी राम्रो लागेको र सोही प्रक्रिया अनुसार नेपाली नर्स पठाउन बेलायतले माग गरेको उहाँले जानकारी दिनुभयो।बेलायतले ‘जिटुजी’ अर्थात सरकारले नै नेपाली नर्स पठाउन प्रस्ताव गरेको छ।  प्रवक्ता डा भुसालले बेलायतको प्रस्ताव अनुसार श्रम मन्त्रालयले कुन तहका नर्स कसरी पठाउने भन्ने विषयमा मापदण्ड तय गर्ने गृहकार्यमा लागेको  जानकारी दिनुभयो।

सहायक प्रवक्ता डा भुसालका अनुसार ,नेपालमा उत्पादन भइरहेको एएनएम, स्टाफ नर्स, बिएन, बिएस्सी नर्सिङ र मास्र्टस् अध्ययन पुरा गरका नर्सहरुमध्ये कुन आवश्यक छ सोही अनुसारको संख्या तय गरेर प्रस्ताव पठाउन मापदण्ड तयार गरिँदैछ। नेपालमा रहेका नर्सिङ जनशक्तिको अवस्थाका आधारमा विषय अनुसारको संख्या तय गरि सोही अनुसारको प्रस्ताव बेलायत सरकारलाई पठाउने उहाँले बताउनुभयो।

आइइएलटिएस पास गर्नुपर्ने
यसरी रोजगारीका लागि जाने नर्सहरुले इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम आइइएलटिएसमा ७ अंक प्राप्त गर्नुपर्ने बेलायतको प्रस्ताव छ,तर नेपालले भने ६ वा ६ दशमलब ५ प्रतिशत अंकलाई पनि मान्यता दिन प्रस्ताव गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको सहायक प्रवक्ता भुसालको भनाइ छ।

यस्तै, नर्सिङ अध्ययन गरेका, नयाँ नर्सिङ जनशक्ति वा कार्यअनुभव भएका कस्तो नर्सिङ जनशक्ति माग गरिएको भन्ने विषयमा पनि स्पष्ट नभएकाले सो विषयमा पनि मन्त्रालयले आन्तरिक छलफल गरिरहेको छ।

नर्सिङ जनशक्ति पठाउन यी विषय टुंगोमा पुग्यो
सहायक प्रवक्ता डा भुसालका अनुसार बेलायतमा नर्सिङ जनशक्ति पठाउने विषयमा केही सर्त भने टुंगो लागिसकेको छ।

जसमा पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ।

यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्। अर्थात बेलायतमा जान योग्य नर्सले कुनै पनि शुल्क नतिरि काम गर्न जान पाउनेछन्।

बेलायत जान छनोट भएका नर्सिङ जनशक्तिले भाषा परीक्षाको शुल्क समेत फिर्ता पाउने तर आवदेन दिएर परीक्षा उत्र्तीण नभएकाहरुको पैसा भने फिर्ता नहुने सहायक प्रवक्ता डा भुसालले जानकारी दिनुभयो।

वर्किङ भिषामा बेलायत पुग्ने नर्सिङ जनशक्ति बेलायतको नेशनल हेल्थ सर्भिस अर्थात त्यहाँको सरकारी अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने छन्।

सहायक प्रवक्ता डा भुसालका अनुसार नेपाली नर्सिङ जनशक्ति बेलायत पठाएबापत नेपालले बेलायतसँग दुई किसिमको माग गर्ने तय भएको छ। जसमा पहिलो सर्त नेपाल सरकारले लगानी गरेका नर्सिङ कलेजहरुको क्षमता बढाउन सहयोग गर्नुपर्ने र छात्रवृत्ति प्रदान गरी नर्सिङ जनशक्तिको उत्पादन बढाउन पनि सहयोग गर्नुपर्ने माग नेपालले गर्ने तय भएको छ।

सहायक प्रवक्ता भुसालका भनाई अनुसार बेलायत सरकारले निरन्तर सहयोग गरेमा अगामी ५ वर्षभित्रमा १० हजार नर्सिङ जनशक्तिले बेलायतमा रोजगारी पाउने र आगामी दिनमा बेलायतले नै छात्रवृत्ति प्रदान गरेका जनशक्तिले रोजगारी पाउन सक्ने अपेक्षा नेपालले गरेको छ।

कति हुन्छ सेवा सुविधा
तलब तथा सेवा सुविधाका विषय भने अझै टुंगिसकेको छैन। ‘यो विषय पनि छलफलकै क्रममा छ, अहिले नै तोकिसकेको अवस्था छैन,’ उनले भने, ‘तहगत आधारमा सेवासुविधाहरु तलमाथि हुन्छ।’

मन्त्रालयमा आएको प्रारम्भिक जानकारी अनुसार नेपाली नर्सको तलब लाखभन्दा माथि नै हुनेछ। तर कुन तहको कति र के के सुविधाहरु हुन्छ भन्ने विषयमा भने केही समयपछि मात्र प्रष्ट जानकारी आउने बताइएको छ।


प्रकाशित | २१ पुष २०७८, बुधबार १४:२७