पत्रकार किशोर पन्थीलाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौँ – पत्रकार किशोर पन्थी अमेरिकाको विश्वविद्यालयले मानार्थ पिएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मानीत हुनु भएको छ । अमेरिकाको सिका युनिभर्सिटीले न्युयोर्क निवासी पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पिएचडीबाट सम्मान गरेको हो ।

मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेन्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिनु भएको छ । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनु भयो ।

यो युनिभर्सिटीले समाजमा कैयन प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक वर्ष मानार्थ पिएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० वर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

पत्रकार पन्थी न्युयोर्कबाट ११ वर्षदेखि प्रकाशित हुँदै आएको खसोखासका प्रधानसम्पादक हुनुहुन्छ भने झन्डै २ दशकदेखि पत्रकारितामा सकृय रहँदै आउनु भएको छ । अमेरिकामा एक दशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आउनु भएको छ । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँनु हुन्छ ।

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरीलगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पिएचडीबाट सम्मानित भइसक्नु भएको छ । त्यस्तै अमेरिकाका केही सांसद्हरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पिएडी प्राप्त गर्नु भएको छ ।

त्यस्तै, बोस्टन प्रहरी विभागका ४२औँ कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पिएचडी प्राप्त गर्नु भएको थियो । उहाँले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहँदा यो मानार्थ पिएचडी प्राप्त गर्नु भएको छ ।


प्रकाशित | २० पुष २०७८, मंगलवार २१:२२