नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल गर्दै मन्त्री आले

काठमाडौँ -नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकाले पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कालोसूचीबाट हटाउन आवश्यक पहल भइरहेको बताउनु भयो ।

उहाँले सरकार संवेदनशील रहेको बताउँदै युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो ।

“राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन् । अब प्रतिनिधि सभाबाट पनि छिट्टै पारित गराएर कालोसूचीबाट बाहिर ल्याउँछौँ,” उहाँले भन्नुभयो । मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सीधा हवाई उडानको प्रस्ताव राखेको जानकारी दिनुभयो ।

नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री मन्त्री आलेले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानको काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराउनुभयो । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उहाँको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 


प्रकाशित | १९ पुष २०७८, सोमबार ०९:२९