एक महिनाभित्र निर्वाचन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आगामी एक महिनाभित्र कुनै पनि हालतमा निर्वाचन हुने र संघको नेतृत्व हस्तान्तरण गर्ने बताउनु भएको छ । अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलासँग कुराकानी गर्नुहुँदै सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचनमा अवरोध आए पनि अब भने कुनै पनि हालतमा एक महिनाभित्र गर्ने गरि अगाडि बढेको बताउनु भयो ।

केही व्यक्तिको स्वार्थको लागि परराष्ट्र मन्त्रालयलाई प्रयोग गरिएको बताउँदै उहाँले संघ स्वतन्त्र सामाजिक संस्था भएको हुँदा नेपाल सरकारको निर्देशन मान्न वाध्यात्मक नभएको बताउनु भयो । उहाँले संघले नेपालको कानुनलाई मानेर अघि बढ्ने पनि बताउनु भयो ।

उहाँले निर्वाचन समिति गठन गरेर निर्वाचनका प्रकृया शुरु भइसकेको बताउदै सबैलाई समेटेर लैजाने प्रयत्न गर्दा निर्वाचन केही ढिला भएको बताउनु भयो । कोरोना महामारीमा संघले महत्वपूर्ण तथा उल्लेख्य रुपमा काम गरेको उहाँले बताउनु भयो ।

विश्वभरि छरिएर रहेका नेपालीहरु मिलेर बस्न चाहेको भन्दै सरकारले उनीहरुको बीचमा फाटो ल्याउने काम नगर्न आग्रह गर्नु भयो । उहाँले कतै सरकारले अमुक व्यक्तिलाई संघको नेतृत्वमा ल्याउनको लागि त यो कदम चालेको होईन ? भनेर पनि अहिले गैर आवासीय नेपालीहरुले प्रश्न उठाएको बताउनु भयो।

उहाँले भन्नु भयो, “सरकारको संघ कब्जा गर्ने चाहना थियो होला, चाहना नभएको भए त यस्तो कदम चाल्दैन थियो होला, संघले त आफ्नो काम गरिरहेको थियो, निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, निर्वाचन समितिले पनि काम गरिरहेको थियो, यसलाई रोक्नुहोस, यसलाई पख्नुहोस भन्नुको मतलव त केही न केही त हिँडेन स्वार्थ छ, केही न केही चाहन्छ सरकार, अमुक मान्छेलाई पो जिताउन लाग्यो सरकार भनेर साथीहरुले शंका गर्नुभयो ।” पन्तले राजनीतिक पार्टीलाई संघभित्र निषेध नै रहेको टिप्पणी गर्नु भयो ।


प्रकाशित | १८ पुष २०७८, आईतवार १४:०८