कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, अन्तिममा राना

काठमाडौं –  नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा हुनुहुन्छ ।

कांग्रेसले पदाधिकारी केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । महामन्त्री गगन थापा वरियताको चौंथो नम्बरमा हुँदा विश्वप्रकाश शर्मा पाँचौ नम्बरमा हुनुहुन्छ । ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि हुनुहुन्छ ।

कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो । सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ । १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना हुनुहुन्छ ।

केन्द्रीय सदस्य मध्य १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्नुभएको हो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ । कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो ।  बाँकी ३३ जना केन्द्रीय सदस्य सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।


प्रकाशित | १५ पुष २०७८, बिहीबार १९:४०