नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताउनुभएको हो ।

उहाँले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्ने बताउनुभयो ।


प्रकाशित | ११ पुष २०७८, आईतवार १८:०९