नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

महाधिवेशनको उद्घाटन सत्रलाई अहिले विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहनु भएको छ । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही लगायतका नेताहरू कार्यक्रममा उपस्थित हुनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृह जिल्ला झापामा रहनु भएकाले महाधिवेशनमा सहभागी हुनु भएको छैन । माओवादी केन्द्रको महाधिवेशनबाट पार्टीमा १५ पदाधिकारी सहितको केन्द्रीय समिति रहने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।

योसँगै माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । जसअनुसार अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उप महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

केन्द्रीय समिति भने २९९ सदस्यीय हुनसक्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको तर्फबाट समितिमा रहनेहरुको नामावली हलमा पेश गरिने र सहमति नबने मात्र मतदानमा जाने उहाँको भनाइ छ । केन्द्रीय समितिमा पेश गरिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमा पनि एकै पटक महाधिवेशनमै छलफल गराइने छ ।

महाधिवेशनमा देशभरबाट झन्डै एक हजार ६ सय प्रतिनिधि सहभागी भएका छन् । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।


प्रकाशित | ११ पुष २०७८, आईतवार १६:१५